दैलेखमा अन्वेषण सुरु गरिएको पेट्रोलियम पदार्थ अन्तिम नतिजाका लागि चिनियाँ विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभाग काठमाडौंले दिएको जानकारीअनुसार १९ चैतसम्म उक्त टोली दैलेख आइपुग्नेछ । अन्तिम ‘ड्रिलिङ’का लागि सडक यातायातको अवस्था, अन्य पूर्वाधारको तयारीलगायतका विषयमा अनुगमन गर्न टोली आउन थालेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।
यसअघि चिनियाँ टोलीले पहिलो चरणको काम सम्पन्न गरेको छ । अन्तिम सर्वेक्षणका लागि जमिनमुनि ४ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्छ । त्यसको सम्भाव्यता अध्ययनका लागि टोली नेपाल आउन थालेको हो । अहिले आएको टोलीले प्रतिवेदन बुझाएपछि अन्तिम अन्वेषणका लागि पुनः अर्को टोली नेपाल आउने विभागले जानकारी दिएको छ । अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेख वा नेपालको कुन भूभागमा कति परिमाणमा पेट्रोलियम छ भन्ने टुंगो लाग्नेछ । त्यसपछि व्यावसायिक रूपमा उत्पादनका कामहरू अघि बढ्ने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । नेपाल आउने टोलीको भिसा प्रक्रिया सुरु भइसकेको विभागको भनाइ छ ।
पहिलो चरणमा दैलेखका करिब ३३ सय स्थानमा ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको छ । साइस्मिक सर्भे, जिओलोजिकल सर्भे, म्याग्नेटोटोरियल सर्भेलगायतका कामहरू भइसकेका छन् । पहिलो चरणको काम सकेर ०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । चीन फर्किएसँगै कोरोना महामारी बढेपछि केही समय काम रोकिएको थियो । दैलेख–सुर्खेत सडक तत्काल चौडा गर्नुपर्ने माग
दैलेखमा रहेका पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ’ गर्न ३५ मिटरसम्म लामा फलामे पाइपलगायतका सामानहरू ल्याउनुपर्ने हुन्छ । त्यसका लागि सडक तत्काल चौडा गर्नुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।
उनले भने, ‘हामीले केन्द्र सरकार र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेत यो विषयमा जानकारी गराएका छौँ । सडक साँघुरो भएकाले तत्काल चौडा गर्नुपर्ने अवस्था छ । यदि त्यसो नभए विकल्पका रूपमा मध्यपहाडी राजमार्ग प्रयोग गर्नुपर्ने अवस्था आउँछ, त्यसका लागि मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम छिटो सम्पन्न गर्न पनि मध्यपहाडी आयोजनालाई ताकेता गरेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले पनि दैलेखमा ठूला विकासे आयोजनाका लागि सामान ढुवानी गर्न मध्यपहाडी राजमार्ग विकल्पका रूपमा रहेको बताए । दैलेखखण्डको १ सय २५ किलोमिटर सडकको काम तत्काल सक्न निर्माणको जिम्मा लिएका कम्पनीहरूलाई बोलाएर ताकेता गरिसकेको बताए ।