Home News मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए।

मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए।

242
0

मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए।

हुर्के बढेको छोरो धन कमाउन भन्दै विदेशिँदा खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको घलेगाउँका गोरे भनिने राजमान भुजेल र उनकी श्रीमती भलमायाँ भुजेल उत्साहित थिए।

नरनातासँग ऋणपान गरेर मलेसिया पठाइएका मने भनिने जेठो छोरो डम्बर भुजेलले पैसा कमाउँछन्, परिवारलाई आर्थिकरुपमा आडभरोसा दिन्छन् भन्ने उनीहरुको अपेक्षा थियो। तर, सोचेजस्तो भएन भुजेल दम्पत्तीको सपना।

वैदेशिक रोजगारीका सिलसिलामा सन् २००३ (विक्रम संवत् २०६० सालताका)मा कामदारका रुपमा मलेसिया पुगेका डम्बर सन् २००६ बाट पूर्णरुपमा परिवारदेखि सम्पर्कविहीन बने। लामो समयसम्म घर नआउँदा र

सम्पर्क नहुँदा डम्बर ‘जिवित छन् वा छैनन्’ भन्ने बारेमा घर परिवार नै अन्योलमा थिए। छरछिमेकले पनि उनी जिवित छन् भन्ने आश मारिसकेका थिए। सम्पर्कविहीन हुँदा परिवारले माया मारिसकेका तिनै डम्बर १८ वर्षपछि स्वदेश फर्किएका छन्।

डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर बेपत्ता भएका थिए। उनी सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन।

कसैले ‘डम्बर ज्यूँदै छ, उतै बसिरहेको छ’ भन्ने अनुमान गर्थे, कसैले ‘उ वितिसकेको छ, नत्र घर सम्झन्थ्यो, परिवार सम्झेर आउँथ्यो’ भन्थे। परिवार सामु उनको बाटो हेरेर बस्नुको विकल्प रहेन। एक दशकसम्म सम्पर्कमा नआउँदा उनको नाममा छाकसम्म छोडिए।

डम्बर मलेसिया जाँदै गर्दा घरमा बुवा, आमा, तीन जना भाई र चार बहिनी थिए। त्यो बेलाका स–साना भाई बहिनी हुर्किर विवाह गरेर हाल आ–आफ्नो घरजम गरिसकेका छन्। डम्बरको बाटो हेर्दै बसिरहेकी आमा भलामायाको ७ वर्षअघि मृत्यु भइसकेको छ।

२०७७ साल मंसिर ७ गते मलेसियामा एउटा पसल अगाडि अचेत अवस्थाका पुरुष भेटिए। अचेत अवस्थामा भेट्ने नेपालीले मरिसकेको भन्दै उनको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। सामाजिक सञ्जालमा उनको ठेगाना खोटाङ उल्लेख गरिएको थियो।

सोही सूचनाको आधारमा केपिलासगढी गाउँपालिका र बालसेवा समाजको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को मनोसामाजिक परामर्शदाता सिर्जना निरौलाले पनि उनको बारेमा सोधखोज सुरु गरिन्। त्यसपछि उनी बाक्सिला घले गाउँको डम्बर भुजेल भएको यकिन गरिएको थियाे।

घरमा लास ल्याउने चर्चा चलिरहेका बेला डम्बर अचेत मात्र भएकाले उद्धार गरेर अस्पतालमा पुर्‍याइएको जानकारी आयो। कुबेतमा रहेकी उनकी माईली बहिनी सविनाले पनि डम्बर जिवित रहेको भन्दै परिवारमा खबर गरिन्। तस्बिर हेरेर राजमानले पनि डम्बरलाई चिने।

‘फेसबुकमा आएको सूचनाको आधारमा सत्यतथ्य बुझ्दै जाँदा उहाँलाई टाउकोमा गम्भीर चोट लागेकाले अचेत मात्र भएको र अस्पतालमा उपचार भइरहेको पत्ता लाग्यो,’ मनोसामाजिक परामर्शदाता निरौलाले भनिन्, ‘लामो समयसम्म अवैधरुपमा बसिरहेका उहाँलाई नेपाल निकाल्नका लागि साथमा कुनैपनि डकुमेन्ट थिएन। सामीकैतर्फबाट निरन्तर फलोअप गर्ने, कागजात तयार पार्न सहयोग गर्ने र उद्धार गरेर नेपाल ल्याउने प्रोसेस थालिएको थियो।’

अन्ततः डम्बर साउन २३ गते काठमाडाैं उत्रिएका छन्। उनको बहिनी उमा र सविनासँग भेट भइसकेको छ। तर, टाउकामा गहिरो चोट लागेको असरले उनको शारीरिक र मानसिक अवस्थामा भने असर पुगेको देखिएको छ। उनको बायाँ कानभन्दा माथिको टाउकाको भाग भित्र पसेको परिवारको भनाई छ। डम्बरलाई ६/७ महिनासम्म अस्पतालमा राखेर उपचार गरिएको थियो। टाउकाको दुई पल्ट अप्रेसन गर्नुपरेकै कारण उनलाई स्वदेश ल्याउनका लागि समय लागेको हो। उनी दुर्घटनामा परेको अनुमान गरिएको छ।

हाल ४२ वर्ष पुगेका डम्बरलाई स्वदेश फर्काउनका लागि मलेसियास्थित नेपाली दूतावासले समेत सहयोग गरेको छ।

काठमाडाैं उत्रिएपछि उनलाई प्रवासी नेपाली समन्वय समिति (कानुनी सहायता जनअधिकार मञ्च)को क्वारेन्टिनमा राखिएको थियो। तर, स्वास्थ्यमा समस्या देखिइरहेकाले तीन दिनपछि नै परिवारको जिम्मा लगाइएको छ। डम्बर १८ वर्षसम्म ‘कसरी बसे र किन सम्पर्कविहीन बने’ भन्ने पाटो भने खुल्न बाँकी छ।

उनको हाल देब्रे हात नचल्ने समस्या देखिएको छ। छोराछोरी आ–आफ्नो सुतीखेतीमा लागेपछि एक्लै बसिरहेका राजमान माया मारिसकेको छोरा घर फर्कँदा हर्षित छन्। तर, शारीरिक र मानसिकरुपमा कमजोर बनेको खबरले भने राजमान उत्तिकै चिन्तित छन्।

‘कहीँ न कहीँ ज्यूँदै छ, भन्ने आश मरेको थिएन,’ उनले भने, ‘तर अपांगजस्तो बनेर आउँदैछ। आफै गरिखान सकेन भने पनि पिरालोचैं हुने नै भयो।’ source : nagrik dainik

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here