Home News प्रचण्डलाई ठूलो झट्का, पूर्वका टावर मानिने दुर्गा प्रसाईं एमालेमा सक्रिय

प्रचण्डलाई ठूलो झट्का, पूर्वका टावर मानिने दुर्गा प्रसाईं एमालेमा सक्रिय

269
0

विएण्डसी मेडिकल कलेजका सञ्चालक तथा समाजसेवी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा झापाबाट प्रतिनिधि बनेका छन् । एमालेको विधान महाधिवेशनमा दुर्गा प्रसाईंको सक्रियता अहिले चर्चाको विषय बनेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पूर्वका टावर मानिने दुर्गा प्रसाईं एमाले प्रवेश गरेसंगै प्रचण्डको टावर ढलेको मानिएको छ । प्रचण्डलाई खुलेर २० वर्ष बढी साथ दिएका दुर्गा प्रसाईं माओवादी पार्टी कै लागि जेलसम्म बसेका थिए ।

प्रचण्ड र केपी शर्मा ओलीलाई वार्ता गराएर नेकपा एकीकरण गराउन ठूलो भूमिका खेलेका दुर्गा प्रसाईं अहिले झापाबाट एमालेको विधान महाधिवेशन समितीमा परेका छन् ।

महाधिवेशनमा सक्रिय रहेका दुर्गा प्रसाईंले क्यानाडा नेपालसंग भने, “एमाले पार्टीमा रहनुको कारण हाम्रो अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति आकर्षित भएको छु ।

देश बनाउने एउटा भिजन चाहिन्छ त्यो वहाँमा पाएको छु र म पनि मेडिकल व्यवसायबाट पनि नेपाललाई विकास गर्न सकिन्छ भन्ने मान्यता बोकेको छु र मलाई एमाले पार्टीले साथ सहयोग गरेकोले म माओवादी केन्द्र छोडेको हुँ ।”

माओवादी केन्द्र र प्रचण्डसंगको २० वर्षको सहकार्य यत्ति सजिलै छोड्न सक्नुभयो भन्दा प्रसाईंले भने, “मैले धोका दिएको होईन किनभने मैले हरेक कदममा प्रचण्डलाई साथ दिएको थिएँ । दुई पार्टी एकीकरण गर्ने बेला पनि मैले साथ दिएको थिएँ तर प्रचण्ड अहिले नारायणकाजी श्रेष्ठहरुको समूह बीच घेरिनु भएको छ । मैले सम्झाउँदा पनि नसम्झेपछि त्यो पार्टीले देश निर्माणमा कुनै सहयोग नगर्ने देखेकोले म एमालेमा लागेको हुँ । हाम्रो मूल एजेण्डा भनेको त देश विकाश गर्नु हो नि। अब यो देशको विकास गर्न केपी ओली नै चाहिन्छ, एमाले नै चाहिन्छ ।”

एमाले पार्टी प्रवेश गर्नु कुनै स्वार्थ नराखेको समेत दुर्गा प्रसाईंले उल्लेख गरेका छन् । आफूसंग जीवन चलाउन र व्यवसाय गर्न पुग्ने पैसा भएको र यदि नपुगे जुनै पनि बैंकले मलाई सहयोग गर्न तयार भएकाले पैसा नै कमाउन राजनीतिमा लाग्नुपर्ने अवस्था आफ्नो नरहेको जनाएका छन् । आफूसंग भएको देश विकास गर्ने योजनाहरु कार्यन्वयन गर्न पनि राजनीतिमा लाग्नु परेको कुरा प्रसाईंले बताएका छन् ।

दुर्गा प्रसाईं केपी ओली निकट रहेका त छन् तर खुलेर एमाले पार्टीमा लागेका थिएनन् तर विधान महाधिवेशन मार्फत अब सक्रिय राजनीतिमा लागेका छन् । आफ्नो व्यवसायलाई समेत अघि लाँदै प्रसाईंले राजनीति मार्फत देशलाई समृद्धि तर्फ लाने प्रयास गर्ने साथै युवापुस्तालाई समेत प्रोत्साहन गर्ने योजना सुनाएका छन् ।

राजनीतिक विश्लेषकहरुका अनुसार राम बहादुर थापा ‘बादल’ र टोप बहादुर रायमाझीहरुले प्रचण्डलाई साथ छोड्नु भन्दा दुर्गा प्रसाईंले साथ छोड्नुले ठूलो असर पर्ने देखिन्छ । नेकपा एकीकरणदेखि प्रचण्डको हरेक कदममा ढाल सरह उभिएका दुर्गा प्रसाईं एमाले तर्फ लम्किदा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको राजनीतिक जानकारहरुको बुझाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here