Home News नेपालमा कोरोना संक्रमितको संख्या घट्नुको कारण के होला ?

नेपालमा कोरोना संक्रमितको संख्या घट्नुको कारण के होला ?

171
0

काठमाडौं । पछिल्लो सात दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । दैनिक ७०० सम्म संक्रमित फेला पर्न थालेकामा हिजो ७० जनामा मात्र कोरोना पुष्टि भयो । के अब नेपालमा संक्रमितको संख्या घटेको नै हो त ? जनमानसमा प्रश्न उठ्न थालेको छ ।

यसलाई विज्ञहरु भने परीक्षण ‘क्वारेन्टिन’भन्दा बाहिर विस्तार हुन नसकेकाले मात्र संख्या घटेको देखिएको विश्लेषण गर्छन् । गत असार १७ गते एकैदिन ७४० जनामा संक्रमण पुष्टि भयो । यो संख्या संक्रमित बढ्न थालेको दुई महिनायताकै उच्च संख्या थियो ।

त्यसदिन त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा भएका ‘पीसीआर’ परीक्षणमा शत प्रतिशत व्यक्तिमा नै संक्रमण पुष्टि भएको थियो । यस्तै, असार १५ गते त्रिवि शिक्षण अस्पतालमा ११४ जनामा भएको परीक्षणमा सबै व्यक्तिमा नै संक्रमण पुष्टि भएको थियो । त्यसदिन पनि देशभर ४८२ जना संक्रमित भेटिए ।

परीक्षण भएका शतप्रतिशत व्यक्तिमा संक्रमण पुष्टि हुनै सक्दैन भनेर विज्ञहरुले विरोध गरेपछि मन्त्रालयले दिनहुँ कुन प्रयोगशालाबाट कति व्यक्तिको परीक्षण भयो भन्ने तथ्यांक नै प्रकाशन गर्न छाडेको छ । नेपालमा असार २० गतेयता भने संक्रमितको संख्या घट्दै गएको छ । असार २० मा २२० जनामा संक्रमण देखिएकोमा असार २५ गते १०८ जनामा मात्र कोरोना पुष्टि भयो ।

के अब संक्रमितको संख्या घट्दै गएको हो त रु के कारणले संक्रमितको संख्या घट्यो ? भन्नेमा जनस्वास्थ्य वैज्ञानिक ठाडै असहमति जनाउँछन् । परीक्षणको संख्या घटाएर संक्रमित संख्या कम भयो भन्नु गलत भएको उनीहरुको टिप्पणी छ ।

डेढ लाखभन्दा बढी क्वारेन्टिनमा बस्नेको संख्यासमेत घटेर हाल २५ हजारमा आइपुगेको छ । निको हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ । संक्रमण फैलिएको चार महिनापश्चात् भाइरस कमजोर हुँदै जाने र जोखिम समूहबाहेक अन्यलाई खासै असर नगर्ने हुँदा संक्रमितको संख्या घटेको हुन सक्ने पनि विज्ञहरुले बताउँदै आएका छन् ।

मन्त्रालयले हाल पाँचओटा जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको दाबी गरेको छ । जसमा हुम्ला, धनकुटा, भोजपुर, सोलुखुम्बु र मुस्ताङ जिल्ला रहेका छन् । यसमा ती जिल्लाका कति व्यक्तिमा परीक्षण भएर मुक्त घोषणा गरिएको हो ? भन्ने प्रश्न उब्जीएको छ ।

हाल दिनहुँ चार हजारमाथि व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ । तर, परीक्षण समुदायस्तरमा अझै जानसकेको छैन । यस्तो समयमा संक्रमितको संख्या घट्दै गयो भनेर सूचना दिँदा यसले झन् जनमानसमा थप लापरबाही बढ्ने जोखिम देखिन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here