कामदार बनेर मलेसिया गए, पछि साहु बनेपछि नेपाली भएर नेपालीमाथि नै अत्याचार गर्दा फन्दामा परे दुर्गाबहादुर क्ष्रेष्ठ ( डेभिड ) :
२० वर्ष पहिले अदक्ष श्रमिकका रुपमा मलेसिया गएका मोरङका दुर्गाबहादुर श्रेष्ठ म्यानपावर सञ्चालक मात्रै भएनन्, मलेसियामा १५ वटा होटलका मालिक समेत भए।
यतिबेला अपहरणकारीका रुपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् उनी। यसअघि आफ्नै क्लासिक ओभरसिज म्यानपावर कम्पनीबाट श्रमिक लैजाने र मलेसियामा आफ्नै होटलमा काम दिने गर्थे।
तर डेभिड नामले चिनिएका दुर्गाबहादुरले काम दिए पनि दाम भने पूरै दिँदैनथे। नेपाली श्रमिकलाई ठग्थे। उनीबाट पीडित भएकाहरु यतिबेला एकपछि अर्को गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्न थालेका छन्।
ब्युरोमा उजुरी गर्नेको संख्या १२ पुगिसकेको छ। उता मलेसियामा पनि दुर्गाबहादुर पक्राउ परेकोमा धेरै नेपाली श्रमिक खुसी छन्। उनीहरु पनि दुर्गाबहादुरबाट पीडित थिए।
मलेसियामा काम गर्ने सिलसिलामा उनको भुटानी महिला धनमाया राईसँग प्रेमसम्बन्ध गाँसियो। धनमाया र दुर्गाबहादुर पहिले एउटै रेस्टुरेन्टमा काम गर्थे। सन् २०१२ मा उनीहरुको विवाह भयो।
मलेसियामा एआईजीदेखि नेपालमा सांसदसम्म कनेक्सन :
मलेसियामा डेभिडको कम्पनीमा काम गर्ने भनेपछि स्थानीय प्रहरीले केही गर्दैनथ्यो। तर डेभिडले भनेपछि पक्राउ गरेर तत्कालै डिपोर्ट गरिदिन्थ्यो। उनको कम्पनीमा काम गर्ने धेरै नेपालीलाई दुर्गाबहादुरले प्रहरी लगाएर फसाएका छन्।
मलेसियाका प्रहरीको पूर्वएआईजीसँग दुर्गाबहादुरको राम्रो सम्बन्ध रहेको र उनले प्रहरीतर्फ सेटिङ गर्ने गरेको पाइएको छ।
स्थानीय गुण्डा र प्रहरी उनै पूर्वएआईजीले परिचालन गर्थे। दुर्गाबहादुरको हैसियत त्यहाँस्थित नेपाली दूतावासदेखि एनआरएनएका प्रतिनिधिलाई पनि थाहा थियो। दुर्गाबहादुरविरुद्धका उजुरी कसैले सुन्ने गरेका थिएनन्। अपहरणबाट मुक्त भएपछि भागेर नेपाल आएका मध्म रैदास भन्छन्, ‘दुर्गाबहादुरले कति कुटे कुटे, भनेर साध्य छैन, तर कसैले उजुरी गर्ने आँट गर्दैनथे। दूतावासमा उजुरी गरेर पनि केही हुँदैन भन्ने सबलाई थाहा थियो।’
रैदासले भने आफैं भागेका थिए। डेभिड पक्राउ परेलगत्तै नेकपाका एक सांसदले फोन गरेर सीआईबीका प्रहरीलाई समेत घुमाउरो भाषामा धम्की दिए।‘तपाईंलाई अप्ठेरो पर्ला, दुर्गाबहादुरलाई पक्राउ गर्नुभएछ, दूतावासमा सबै कुरा मिलिसकेको छ, राजदूतले अप्ठेरोमा पार्लान्,’ ती सांसदले भनेको एक प्रहरीले सुनाए।
ती सांसदको परिचय भने उनले खोल्न चाहेनन्।
नेपाली युवतीमाथि आफ्नै रेस्टुरेन्टमा अत्याचार :
दुर्गाबहादुरबाट पीडित भएको भन्दै हालसम्म चार महिलाले जाहेरी दिएका छन्। काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक र चितवनका ती महिलाले आफूहरुमाथि दुर्गाबहादुरले अत्याचार गरेको बताएका छन्।
उनीहरु दुर्गाबहादुरको रेस्टुरेन्टमा काम गर्थे। दुर्गाबहादुरले ग्राहकसँग पठाउँथे र व्यापार बढाउन लगाउँथे। तर ग्राहकले एउटा गिलास फुटाएपनि उनीहरुको तलब काटिन्थ्यो।‘रक्सी खाएपनि किन खाको भन्दै थर्काउने, नखाएपनि खाएर व्यापार बढाउनु पर्दैन भनेर थर्काउने,’ एक युवतीले सुनाइन्।
जब भिसा सकिन्छ तब दुर्गाबहादुरले अप्ठेरोमा पार्न थाल्थे। भिसा सकिएका श्रमिकलाई प्रहरीले पक्राउ गरेर जरिवाना तिराउँछ र डिपोर्ट गर्छ। दुर्गाबहादुर समयमा नेपाल फर्किन दिँदैनथे। भिसा सकिएपछि प्रहरी र गुण्डा लगाइदिऊँ भन्दै थर्काउँथे। ती युवतीले भनिन्, ‘उसकोमा काम गरेर फर्किने कोही पनि खुसी छैनन्, सबैलाई तनाव दिएको छ।’
नेपाली श्रमिकमाथि अत्याचार गरेका दुर्गाबहादुर पक्राउ परे पनि उनकी श्रीमती धनमाया र गाडी चालक श्याम नेपाली मलेसियामै छन्। उनीहरुविरुद्ध समेत प्रहरीमा उजुरी परेको छ।
Malayakhabar