१२ लाखमै बनाउन सकिन्छ ३ कोठे आधुनिक प्रविधिको घर

466
0

तपाईं हामी सबैको चाहाना हुन्छ, कमभन्दा कम लागतमा आधुनिक सुन्दर घर ठड्याउन सकियोस् । अझ कतिपयले पैसा जुवाड गर्न नसकेर आफ्नो घर बनाउने योजना बर्षेनी पछाडि धकेल्दै आइरहेका पनि हुन्छन् ।

आरसीसी (पिलर र ढलान) प्रविधिबाट एक तलाको सामान्य चार कोठे घर बनाउन पनि ३२/३५ लाख खर्च लाग्छ । अढाई तले घर बनाउँदा झन्डै ७० लाख खर्च गर्नुपर्ने हुन्छ । मनग्य आम्दानी नहुने बर्गले यत्रो रकम कहाँबाट जुटाउन सक्ला ?

खासगरी निम्नमध्यम तथा मध्यम बर्गले दशौं वर्ष मिहेनत र संघर्ष गरेर कमाएको पैसा अलिअलि बचत गरेर शहरमा जेनतेन एक टुक्रा जग्गा जोडेको हुन्छ । फेरी घर बनाउनका लागि अर्को दशौं बर्ष मिहिनेत र संघर्ष गर्नुपर्ने हुन्छ । एउटा घर ठड्याउने सपना पुरा गर्न संघर्ष गर्दा गर्दैसारा जीवन खर्च गर्छौं ।

तर, अब निर्माण क्षेत्रमा पनि नयाँनयाँ प्रविधि जन्मिदै छन् र यी बैकल्पिक बिधिले घर बनाउने सपसनालाई सहज र सुलभ बनाउँदैछन् । विश्वभरी विज्ञान र प्रविधिमा भएको विकासले तपाईंको आफ्नै घर बनाउने सपना छिट्टै साकार हुन सक्छ । पछिल्लो समय निर्माण क्षेत्रमा यस्तो आधुनिक प्रविधि विकास भइसकेको छ कि जसले कम लागतमै सुन्दर र बलियो घर ठड्याउन सम्भव भएको छ ।

अहिले विश्वभर निर्माण क्षेत्रमा विभिन्न प्रविधिहरु जन्मिएका छन् जसमध्ये हामीले तपाईंहरुलाई कोरियन प्रविधिबाट कम लागतमै बलियो र सुन्दर घर कसरी बनाउन सकिन्छ भनेर जानकारी गराउँदै छौं ।

कोरियन कम्पनी एसवाई प्यानलले कम लागतमै घर बनाएर तपाईंको सपना पुरा गरिदिन सक्छ त्यो पनि अत्यन्तै कम समयमा ! कोरियन प्रविधिबाट तीन कोठाको एकतले घर बनाउन १२ लाख, ठूल्ठूला चार कोठाको एकतले घर बनाउन २० लाख र अढाई तलाको १०कोठा भएको घर ५१लाख रुपैयाँ हाराहारी खर्च लाग्छ ।

एसवाई प्यानलका सिभिल इञ्जिनियर एवं मार्केटिङ म्यानेजर बिमलराज गोसाईं भन्छन्, ‘आरसीसी प्रविधिको तुलनामा कोरियन प्रविधिकबाट एक तलाको घर बनाउँदा ३० प्रतिशत र अढाई तलाको बनाउँदा २० देखि २५ प्रतिशतसम्म सस्तो पर्छ ।’

फेब्रिकेटेड घर बनाउन समय पनि धेरै लाग्दैन । तयारी सामान ल्याएर जडान गरिने हुँदा एक तलाको घर बनाउन एक महिना र अढाई तलाको घर बनाउन दुई महिना हाराहारी समय लाग्छ । जबकी आरसीसी प्रविधिको अढाई तले घर बनाउँदा कम्तीमा ६ महिना लाग्छ ।

दई वर्षअघि कोरियन नागरिकले चितवनमा ७२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर खोलेको एसवाई प्यानलले २ देखि ६ इन्चसम्मको मोटाईमा विभिन्नि किसिमका फेब्रिकेटेड छाना र वालहरु उत्पादन गर्दै आइरहेको छ । अहिले यो कम्पनीका देशभर ५३ वटा डिलर पुगिसकेका छन् अर्थात् कोरियन प्रविधि छोटो अवधिमै गाउँ शहर पुगिसकेको छ ।

चार आना जग्गामा १३६९ बर्गफिट क्षेत्रफल हुन्छ । यस्तै, तीन आना जग्गामा १०२६.७५ बर्गफिट क्षेत्रफल हुन्छ । इञ्जिनियर गोसाईंका अनुसार चार कोठाको फेब्रिकेटेड घर बनाउँदा बढीमा ७०० बर्गफिट क्षेत्रफल कभरेज हुन्छ ।

कोरियन प्रविधिले घर बनाउँदा ७०० बर्गफिटमा तीनवटा कोठा १२ बाई १२, एउटा बैठक कोठा १२ बाई १६, एउटा बाथरुम र प्यासेजसहितको घर ठडिन्छ । यो प्रविधिबाट घर बनाउँदा आरसीसी स्ट्रक्चरले झैं धेरै ठाउँ पनि खाँदैन ।

अहिलेको महंगाईमा धेरै जग्गा किन्न सकिदैन । यदि तपाईसँग तीन आनामात्र जग्गा भए पनि ३२६ बर्गफिट जग्गा घरको वरिपरि खाली रहन्छ । चार आना जग्गा छ भने गाडी राख्ने कम्पाउन्ड र सानो बगैंचा भएकै घर बनाउन सकिन्छ ।

जमिनमुनि फाउन्डेसनको निर्माण आरसीसी र कोरियन दुबै प्रविधिको घर बनाउँदा एउटै लागू हुन्छ । कोरियन प्रविधिको फेब्रिकेटेड घर बनाउँदा पनि जमिनमुनि गिट्टी, बालुवा, डन्डी र सिमेन्टबाटै आरसीसी संरचना नै निर्माण गरिन्छ । कोरियन फेब्रिकेटेड प्रविधिबाट एक तलाको घर बनाउँदा फाउन्डेसनको काममा त्यति धेरै खर्च हुँदैन । तर, दुई तलाभन्दा अग्लो घर बनाउँदा जमिनमुनि हात्तिपाइले र डबल टाइपिङ नै गर्नुपर्छ जसरी आरसीसी प्रविधिबाट घर ठड्याइन्छ । उता आरसीसी प्रविधिमा भने एक तलाको घर बनाउँदा पनि डबल टाइपिङ बनाउनै पर्ने हुन्छ ।

एक तलाको चार कोठे घरको खर्च

एसवाई प्यानलका इञ्जिनियर गोसाईंका अनुसार एक तले फेब्रिकेटेड घर बनाउनका लागि जमिनमुनि डबल टाइपिङ र हात्तिपाइले बनाउन पर्दैन । उनी भन्छन्, ‘एक तले घर बनाउँदा डबल टाइपिङ गर्नु नपर्ने हुनाले खर्च पनि कम लाग्छ ।’

कम्पनीका अनुसार ७०० सय बर्गफिट क्षेत्रफलमा फाउन्डेसनको काम गर्दा प्रतिबर्गफिट साढे सात सय रुपैयाँका दरले ५ लाख २५ हजार रुपैयाँ खर्च लाग्छ । जमिनमुनि फाउन्डेसनको काम पूर्णतया सिमेन्ट, बालुवा, गिट्टी र डन्डी प्रयोग गरेर गरिन्छ । जमिनभन्दा माथि कोरियन प्रविधिको फेब्रिकेटेड निर्माण सामाग्री प्रयोग गरिन्छ । गोसाईं भन्छन्, ‘७ सय बर्गफिटमा एकतले फेब्रिकेटेड स्ट्रक्चर (घर) ठड्याउन प्रतिबर्गफिट १८ सय रुपैयाँका दरले १२ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । वाल, झ्याल, ढोका, किचन, ट्वाइलेट बाथरुम, भ¥याङ, छानो सबै यही खर्चभित्र पर्न आउँछ ।

यस्तै, प्लम्बिङ र इलेक्ट्रिफिकेसनको काममा एक लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । सेफ्टी ट्यांकी र अन्डरग्राउन्ड ट्यांकी बनाउनुभयो भने अर्को १ लाख २० हजार रुपैयाँजति खर्च लाग्ने गोसाईंं बताउँछन् । छतमा एक हजार लिटर पानी अट्याउने ट्यांकी कम्पनी आफैले राखिदिन्छ ।

घर बनाइसकेपछि कम्पाउन्ड र गेट पनि बनाउन परिहाल्यो । कम्पाउन्ड बनाउनका लागि अतिरिक्त ५० हजार रुपैयाँ हाराहारी खर्च हुन्छ ।अब एसवाई प्यानलबाट एक तला घर बनाउँदा करीव करीव २० लाख रुपैयाँ खर्च लाग्ने इञ्जिनियर गोसाईं बताउँछन् ।

२० लाख रुपैयाँमा पूर्ण तयारी चार कोठाको घरको चाँबी ग्राहकलाई ह्यान्डओभर गर्न सकिने उनको भनाई छ । घरमा फर्निसिङको काम भने घरधनी आफैले गर्नुपर्ने हुन्छ ।

तीन कोठे घर १२ लाखमै तयार

इञ्जिनियर गोसाईंका अनुसार साढे ५ सय बर्गफिटमा पनि राम्रो घर बन्छ । यदि ३ कोठाको घर बनाएमा १२ लाखमै तयार हुने उनको भनाई छ । सानो जग्गा हुने र कम आयस्रोत हुनेका लागि यस्तो घर उपयुक्त हुने देखिन्छ । गोसाईं भन्छन्, ‘यति जग्गामा १० बाई १२ बर्गफिटका कोठा र सानो किचन बनाएमा चारवटै कोठा निकाल्न सकिन्छ ।’

अढाई तलाको फेब्रिकेटेड घर बनाउँदा जमिनमुनि डबल टाइपिङ गर्नुपर्छ । ७ सय बर्गफिट क्षेत्रफलको घर बनाउन डबल टाइपिङ गर्दा प्रतिबर्गफिट १५ सय रुपैयाँका दरले १० लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । यस्तै, जमिनमुनि सेफ्टी ट्यांकी र रिजर्भ ट्यांकी बनाउँदा अर्को एक लाख २० हजार रुपैयाँ खर्च हुन्छ ।

गोसाईंका अनुसार गिट्टी, बालुवा, सिमेन्ट र डन्डीबाट गरिने जमिनमुनिको काम सिध्याउन करीव ११ लाख ७० हजार रुपैयाँ लागत पर्न आउँछ ।

जमिनमाथि अढाई तलाको १० कोठाको घर बनाउँदा कुल १७ सय ५० बर्गफिट क्षेत्रफल हुन आउँछ । कोरियन प्रविधिको फेब्रिकेटेड प्यानलबाट अढाई तले घर बनाउँदा १७५० बर्गफिट क्षेत्रफलमा प्रतिबर्गफिट १८ सय रुपैयाँका दरले ३१ लख ५० हजार रुपैयाँ लागत पर्न आउँछ । यो खर्चभित्र वाल, झ्याल, ढोका, किचन, ट्वाइलेट बाथरुम, भ¥याङ, छानो, फलसिलिङ सबै अटाउँछन् ।

अढाई तलाको घर बनाउँदा प्रत्येक तलामा ढलान गर्नुपर्ने हुन्छ ।फ्लोरिङ गर्दा १७५० बर्गफिटको प्रतिबर्गफिट ३०० सय रुपैयाँका दरले ५ लाख २५ हजार रुपैयाँ पर्न आउँछ । गोसाईंका अनुसार प्रत्येक तलामा मेटलको डेकिङ राखेर ३ इन्चको ढलान हुन्छ । घरको छानो फेब्रिकेट प्यानलबाटै बनाइन्छ ।अढाई तले घरमा प्लम्बिङ र इलेक्ट्रिफिकेसनको काम गर्दा करीव करीव २ लाख रुपैयाँ खर्च हुने गोसाईं बताउँछन् । कम्पाउन्ड गेट बनाउनका लागि अतिरिक्त ५० हजार रुपैयाँ हाराहारी खर्च हुन्छ ।अब कोरियन प्रविधिको फेब्रिकेट प्यानल प्रयोग गरेर अढाई तलाको घर बनाउँदा करीव ५१ लाख रुपैयाँ खर्च हुन्छ जबकी आरसीसी प्रविधिबाट अढाई तलाको घर बनाउँदा ७०/७५ लाख रुपैयाँ खर्च लाग्छ ।

नेपाल होम्स डटकमबाट साभार गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here