Home News धौलीगंगाले सधैं त्रास

धौलीगंगाले सधैं त्रास

45
0

दार्चुला : २०७० असारको ३ गते दार्चुला सदरमुकाम खलंगाको धेरै भाग बग्यो। बजारका पक्की घर, जिल्ला अस्पतालसहित सदरमुकामको तल्लो क्षेत्र महाकालीले बगायो। भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् आयोजनाका कारण सो घटना भएको थियो।

नेपाल र भारत सीमा छुट्ट्याउने महाकाली नदीदेखि झन्डै ७ किलोमिटर पश्चिम भारतीय क्षेत्रमा उसको २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् आयोजना छ। वर्षामा धौलीगंगा बाँधमा पानी बढ्यो भयो भने सो आयोजनाले महाकाली तर्फका ढोका खोल्छ। धौलीगंगा महाकाली नदीको सहायक नदी हो। दार्चुला सदरमुकाम खलंगादेखि उत्तरतिरको क्षेत्रमा धौलीगंगा महाकालीमा मिसिन्छ।

दार्चुलाको बंगाबगडका स्थानीय रक्षा बम भन्छन्, ‘महाकालीको बाढीको त्रास हुँदैन, भारतले कहिले धौलीगंगाको बाँध छोड्छ र फेरि कहिले बगाउँछ भन्ने त्रास भइरहन्छ, धौलीगंगाको बाँध जतिबेला पनि खुल्ने गर्छ।’ वर्षामा महाकालीको आवाज सुन्दा नदीमै सुतेको जस्तो हुने उनले बताए। धौलीगंगा जलविद्युत् आयोजनाको बाँधको उचाइ ५९ मिटर अग्लो छ। ३ सय १४ मिटर चौडाइको बाँधमा क्षमताभन्दा बढी पानी भयो भने ढोका खोल्ने गरिन्छ। बाँधका ढोका खोलिएपछि महाकालीको सतह बढने र दार्चुलादेखि बैतडी, डँडेलधुरा र कञ्चनपुरमासमेत बाढीको जोखिम बढ्छ।

२०७० को विनाशकारी बाढीले दार्चुला सदरमुकामको रिङलताल, गल्फै, भोराबगडको आधाभन्दा बस्ती बगाएको थियो। त्यसबेला पक्की घर भएको स्थानमा अहिले महाकाली बगिरहेको छ। ‘पहिले त्यो ठाउँमा बस्ती थियो, ठूलठूला घर थिए भन्दा अहिलेका नयाँ पुस्ताले पत्याउँदैनन्’, महाकाली नगरपालिका ८ का स्थानीय अमरसिंह ढाटले भने। महाकाली नदी दार्चुला भारततर्फ लागेपछि शारदा नदीका नामले चिनिन्छ। यसैमा भारतले विद्युत् उत्पादनका लागि धौलीगंगामा बाँध बनाएर जलाशय निर्माण गरेको हो। सीमापारि भए पनि आयोजनाको अधिकांश प्रभाव क्षेत्रमा नेपाली भूभाग पर्छन्।

भारतको धौलीगंगा जलविद्युत् आयोजनाका कारण हरेक वर्ष महाकालीमा बाढीको त्रास बढ्ने नेपाल रेडक्रस सोसाईटी दार्चुलाका सचिव दीपकप्रसाद अवस्थी बताउँछन्। ‘महाकालीमा हिमालबाट हिउँ पग्लेर, विभिन्न सहायक नदीबाट बर्खामा ठूलो बाढी आउछ, त्यसैमा भारततिरको आयोजनाको पानी पनि मिसिएपछि महाकालीको सतह दोब्बर हुन्छ, त्यसैले नेपालतर्फ क्षति हन्छ’, उनले भने। धौलीगंगा जलविद्युत् आयोजनाबाट एकैपटक २ सय ८० मेगावाट विद्युत् उत्पादन गर्दा सामान्यतया १ सय ७ क्युमेक पानी डिस्चार्ज हुने महाकाली नदी नियन्त्रण आयोजनाका पूर्वप्रमुख मित्र बरालको ठहर छ। उनले भने, ‘त्यति परिमाणको पानी छोड्दा महाकाली नदीको सतह कति बढ्छ, त्यसलाई नाप्ने यन्त्र र उपकरण हामीसँग छैन।’

महाकालीमा कति पानी छ, भारतले बाँध खोलेमा बग्ने पानीको मात्रा, त्यसले नेपालतर्फको नदी तटीय क्षेत्रमा पुर्‍याउने क्षतिको अध्ययन र उपकरण भए मात्रै बाढीबाट जोगिन सकिने उनको बुझाइ छ। ‘नेपालतर्फ महाकाली तटीय क्षेत्रमा पानीको डिस्चार्ज मापन स्टेसन छैन। दत्तु, बैतडी र डँडेलधुराको परशुराम नगरपालिकामा पानीमापन केन्द्र भए पनि अत्याधुनिक प्रविधि नहुँदा तथ्यांक भरपर्दो हुँदैन, त्यसैले बाढीको क्षति मापन गर्न सकिँदैन’, बरालले भने। २०७० को बाढीका बेला महाकाली नदीमा पानीको सतह १५ हजार क्युसेकभन्दा बढी पुगेको शारदा ब्यारेजले जनाएको थियो। त्यो पानी महाकालीको क्षमता भन्दा बढी थियो।

भारततर्फको सीमा नजिक महाकालीमा पानी नाप्ने गेयर स्टेसनको ४ मिटरभन्दा बढी गए खतराको लेवलमा पुगेको जनाउँछ । यसबारे जानकारी लिन भारतीय क्षेत्रमा पुग्नुपर्छ । बराल भन्छन्, ‘नेपाली अधिकारीले त्यहाँ पुगेर नदीको जानकारी लिन मिल्दैन, यसका लागि दुवै देशबीच उच्चस्तरीय छलफल आवश्यक छ।’ धौलीगंगामा विद्युत् उत्पादन गर्न ३२ सय क्युसेक पानी खस्ने गर्छ। यसले सामान्य तवरमा बगिरहेको नदीमा २० प्रतिशत पानीको सतह बढाउने बताइएको छ।

भारतको आनाकानी

वर्षाद्मा पूर्वसतर्कता अपनाउन सूचना दिए पनि कतिबेला बाँधको ढोका खोलिन्छ भन्ने समय निर्धारणमा भने उसले आनाकानी गरिरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। ‘बाँधको ढोका यो मितिको यो समयमा खोलिन्छ भनेर सूचना दिए पो सतर्कता अपनाउन सकिन्छ, पर्सि खोलिन्छ भन्ने तर आजै खोलिदिने हो भने त्यो सूचनाको के औचित्य भयो’, महाकाली नगरपालिका– ८ का गोपासिंह धामीले भने।

जसले डुबाउँछ दोधारा-चाँदनी
७ वर्षअघि नेपाललाई औपाचारिक सूचना नदिई बाँध खोलिएको थियो। पूर्व सूचनाबिना बाँधको ढोका खोलिएपछि, दार्चुलाका १ सय ५६ घर पूर्णरूपमा क्षति पुग्नुका साथै १ हजार २ सय वटा सरकारी भवन महाकालीमा बगेका थिए। त्यस बेलाको बाढीले दार्चुला सदरमुकामको नौ सय ५८ रोपनी जग्गा पनि बगाएको थियो। ठूलै पानी पर्ने, ड्याम सफा गर्नुपरे वा बाँधको ढोका खोल्नुपर्ने अवस्था आएमा भारतीय पक्षले २०७० यता फोन र पत्राचारमार्फत सूचना दिने गरेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

जोखिममा तटीय क्षेत्रका बस्ती

महाकाली तटीय क्षेत्रका खलंगाबाहेक व्यासको तिग्रम, दुहुको खेतीगाउँ, महाकाली नगरपालिकाको श्रीबगड, कलोन, किम्तडी, धाप, सकार, दत्तु, बेत, मालिकार्जुन गाउँपालिकाको भर्तोला, खेतार, जौलजिवी, उकु, भोल्यानी, बाकु, लेकम गाउँपालिकाको बाकु, शेरालगायत बस्ती जोखिममा छन्।

दार्चुलाको सदरमुकाम खलंगामा उर्लिंदै गरेको महाकाली नदी। तस्बिर : सुन्दरसिह धामी

श्रीबगड, सकार, जौलजीवी, भौल्यानीलगायत बस्ती भने बाढीको उच्च जोखिममा रहेका मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए। जिल्ला दैवी प्रकोप समितिका अनुसार केही बस्तीमा मात्र तारजालीको अस्थायी तटबन्ध निर्माण भएको छ।

महाकाली नगरपालिका–१ श्रीबगडका दुइटै बस्ती बाढीको उच्च जोखिममा रहे पनि यसतर्फ सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीय सुरेन्द्रबहादुर बमले बताए। ‘नदीमा पानीको सतह बढ्नेबित्तिकै बहाव नेपालतर्फ फर्किहाल्छ, भारतले पक्की तटबन्धसँगै ठूलठूला स्काप बनाएर नदी फर्काएकाले बाढीको जोखिम बढेको हो’ उनले भने। सरकारले यो विषयमा बेलैमा ध्यान नदिए नेपालले ठूलो क्षति बेर्होनुपर्ने महाकाली नगरपालिकाका मेयर हंशराज भट्टले बताउँछन्। ‘यो समस्या अहिलेको होइन, धेरै वर्ष पहिलेको हो, झन् यसपालि सीमा विवादले समस्यामा पार्न सक्छ’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here