बेनी : म्याग्दीको लाइफ लाइन मानिएका मुख्य सडक पहिरोले अवरुद्ध भएका छन् । बेनी-जोमसोम, बेनी-दरवाङ लगायत छिमेकी जिल्ला र गाउँपालिकाका केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको छ ।
असार २५ गतेको पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिकाको मराङ, ताकम, मालिकाको बिम र देविस्थानसँगै मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक फापरखेतको पहिरोका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ ।
फापरखेतको पहिरोले हरेक वर्ष बर्खायाममा पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग सिधा यातायात सम्पर्क बिच्छेद गराउँछ । करोडौ खर्चीए पनि दिर्घकालिन रुपमा पहिरो रोकथाम सफल नहुँदा बेनी-दरवाङ सडकमा फापरखेतको पहिरो रोग बनेको मंगला-२ का रमेश सुवेदीले बताए ।
‘ढुवानी र बिरामीलाई अस्पताल लैजान समस्या छ,’ उनले भने, ‘पहिरोका कारण समयमा गन्तव्यमा पुग्न सकिदैन। महँगो भाडा तिर्नुपर्छ । जोखिम पनि उत्तिकै छ ।’
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिकाहुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक पनि दर्जनौ ठाउँमा पहिरो जाने र बाढीले पुल तथा सडक बगाएपछि अवरुद्ध छ ।
गलेश्वरको बेलिब्रिज रघुगंगा नदीले कटान गरेर बगाएको छ भने काभ्रे भिरमा पहिरो र कालीगण्डकीले कटान गरेपछि दश दिनदेखि बेनी-जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् ।
‘एक ठाउँ बनाउन नसक्दै अर्को ठाउँमा पहिरो खस्छ,’ बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भने, ‘निरन्तरको पहिरोले सडक मर्मतको प्रयास सफल हुन सकेको छैन् ।’
गाडी परिवर्तन गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने, समयमा गन्तव्य पुग्न नसक्ने, कतिपय अवस्थामा पैदलै हिँड्नुपर्ने, पहिरोमा ढुंगा खसेर चोटपटक लाग्ने जोखिम छ ।
सिधा आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तुको निकासीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको धवलागिरी गाउँपालिका-७ ताकमका ज्ञानबहादुर पौडेलले बताए ।