Home News बाढीपहिरोले देशव्यापी क्षति

बाढीपहिरोले देशव्यापी क्षति

94
0

काठमाडौं : भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न ठाउँमा जनधनको क्षति पुगेको छ। संघीय राजधानी रहेको काठमाडौं उपत्यकाकै धेरै स्थान जलमग्न भएका छन्। बागमती, धोबी, विष्णुमती, बल्खुलगायत खोलाको बाढीले आसपासका बस्ती डुबानमा परेका छन्।

काठमाडौंमै पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा सोमबार राति २२ वर्षीय नवराज गुरुङको मृत्यु भयो। टोखा नगरपालिका–१ मा मंगलबार दिउँसो पहिरोले टहरो पुरिँदा धनकुटा घर भएका रामकुमार रानामगरका छोरा सचिन र छोरी सन्ध्याको ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। टहरोमा रहेका १० मध्ये ८ जनाले भागेर ज्यान जोगाएका छन्।

यस्तै, धादिङको त्रिपुरासुन्दरी–६ आगिन्चोकमा एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परेर सोमबार राति दार्चुलामा २ जनाको मृत्यु भएको छ। बाढीपहिरोका घटना थुप्रै भएका छन्। त्यस क्रममा कतिपय बेपत्ता भएका छन्। मुख्य सडकहरू नै ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्। कतिपय ठाउँमा बाढी बस्तीमा छिरेपछि स्थानीय विस्थापित भएका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म १५ स्थानमा अविरल वर्षा भएको छ। आठ स्थानमा पहिरो, दुई ठाउँमा बाढी, एक स्थानमा आगलागी, एक स्थानमा हात्तीको आक्रमणका घटना भएका छन्। यी घटनामा परेर ६ जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।

काठमाडौंमा ४० परिवार डुबानमा परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले बताए। उनका अनुसार काठमाडौंमा दुई दिनमा ४० परिवारका ५ सय जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ।

‘सोमबार र मंगलबार विभिन्न स्थानबाट करिब ४० परिवारलाई स्थानान्तरण गरिएको छ’, उनले भने, ‘उद्धार गरिएका कतिपयलाई आफन्तकोमा, कतिपयलाई विभिन्न सुरक्षित स्थानमा राखिएको छ।’

बस्ती डुबान भएपछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको समन्वयमा जोखिममा रहेका ४ सय ५० जनालाई सुरक्षित ठाउँमा सारिएको छ। उद्धार गरिएकालाई टेकुस्थित सत्तल, पाटी, क्लब र आफन्तको घरमा राखिएको महानगरीय प्रहरी रानीपोखरीले जानकारी दिएको छ।

कीर्तिपुर नगरपालिकाको सुन्दरीघाट सुकुमबासी बस्तीमा बाढीले डुबान बनाएको छ। त्यहाँका ४ घरका २० जना विस्थापित छन्। उनीहरूलाई प्रहरीले सुरक्षित स्थान रमन कन्स्ट्रक्सनको भवनमा राखेको छ। यसबाहेक पेप्सिकोला, थापाथली, सिर्जनानगरलगायत क्षेत्र डुबानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here