Home News चिनियाँ राष्ट्रपतीको निर्दे*शनमा कम्युनिष्ट पार्टीको टोली नेपाल आउदै

चिनियाँ राष्ट्रपतीको निर्दे*शनमा कम्युनिष्ट पार्टीको टोली नेपाल आउदै

336
0

चिनियाँ राष्ट्रपतीको निर्देशनमा कम्युनिष्ट पार्टीको टोली नेपाल आउदै



याे समचार पनि पढ्नुहोस्

कुकुर ओइरिएपछि र आफ्नै जनावरले पनि तिनैलाई साथ दिएपछि डेरी मालिकले सपरिवार कुलेलम ठोके । नोकरहरूले भने कुकुरका सामु आत्मसमर्पण गरे र तिनका बफादार भएर बसे । उनीहरूको मान्यता थियो— नोकरी भनेको नोकरी नै हो, मान्छेको नोकर हुनु र कुकुरको नोकर हुनुमा फरकै के छ र ?

कुकुरका पाँच तह थिए— भुस्याहा, घरपालुवा, लडाकू, भाइनाइके र नाइके । भुस्याहा आम कुकुरलाई भनिन्थ्यो, जसको हैसियत कुकुर हुनु मात्र थियो । घरपालुवा ती थिए, जो कुनै भाइनाइकेको संरक्षणमा रहेका र तिनका आज्ञाकारी हुन्थे । लडाकू त्योभन्दा उपल्लो श्रेणी थियो । यस अन्तर्गत तिनीहरू पर्थे, जो नाइकेका लागि जे गर्न पनि तयार रहन्थे— कसैलाई भुक्न, झम्टन, लखेट्न र घाँटी अँठ्याउन पनि । यिनले आफ्नो बुद्धि नाइकेलाई चढाएका हुन्थे । भाइनाइके पाँच जना थिए, जसको हैसियत नाइकेको वरिष्ठ सहायकको थियो । नाइके सबैभन्दा माथि थियो— कुकुर समूहको सर्वेसर्वा, प्राधिकार । जंगे नाम गरेको त्यो कुकुर सबै भन्दा जोडले भुक्न र विद्युत् गतिमा क्याक्क पारेर कसैको पनि घाँटी फुटाउन उस्ताद थियो । अरू कुकुर जति भुकेका भए पनि डेरी उसैको भुकाइले कब्जा भएको मानिन्थ्यो ।

सानोतिनो महल जस्तो थियो डेरी मालिकको घर । त्यसलाई जंगेले आफ्नो आवास बनायो र डेरी मालिकका सम्पूर्ण सुखसुविधा उसैगरी उपभोग गर्न थाल्यो । चाँदीको थालमा खान्थ्यो र विलासी गाडीमा हिंड्थ्यो । उसका दुई जना भान्से, आठ जना नोकर, दुई जना ड्राइभर र चार जना बन्दूक सहितका अंगरक्षक थिए । भाइनाइकेहरूले पनि राम्रै बंगला पाएका थिए— यथोचित सुविधासहित ।

शुरूका तीन महीना राम्ररी बिते । राम्रा दिन आउने आशामा गाई–भैंसीले सकेसम्म बढी दूध दिए । भेडा–बाख्राले बढी भन्दा बढी सन्तान जन्माए । गोरु, राँगा, गधा र खच्चडले यो मेरो काम होइन भनेनन्— खेतबारी जोत्नेदेखि भारी बोक्नेसम्म सारा काममा उत्साहसाथ खटिए । कसैलाई घाँसपराल हाल्नुपरेन, उनीहरू आफैं चरनमा जान्थे र भुँडी टन्न हुने गरी चरेर आउँथे ।

भँडारमा अन्न प्रशस्त थियो, खानको दुःख भएन । भुस्याहाहरूले दिनदिनै मोही पाउँथे । कहिलेकाहीं ज्यादै अमिलो र गन्हाउने हुन्थ्यो, तर जति गन्हायो उति मीठो लाग्ने तिनको स्वभावै थियो । घरपालुवा र लडाकूले ताजा मोही र तर्‍याकतुरुक दूध पनि पाउँथे । लडाकूले त यसो मौका पर्दा गाईभैंसीको थुनबाट सोझै दूध पनि बजाइदिन्थे । भाइनाइकेको भान्सामा दूध–दहीको कमी थिएन । डेरीमा मासु भने पाइँदैनथ्यो । कुकुर त कुकुरै हुन्, मासुको तृष्णा हुने नै भयो । तैपनि, डेरी कब्जा भएको खुशियालीमा कसैले त्यसको गुनासो गरेको थिएन ।

चौथो महीनामा स्थिति खस्कियो । कुकुरहरूले डेरी कब्जा गरेपछि जनावरले कुँडो र दाना खान पाएका थिएनन् । ती कमजोर हुन थाले । गाई–भैंसीको दूध घट्न थाल्यो । गोरु सुस्त भए, राँगा छिटै थाक्न थाले, गधा पहिले जति भारी बोक्न नसक्ने भए र एउटा खच्चड त थला नै पर्‍यो । डेरी चलाउन राखिएका मान्छे पनि कुपोषणले बिरामी पर्न थाले । यसबाट जंगे क्रुद्ध भयो र उसले फरमान जारी गर्‍यो, ‘हाम्रो महान गौरवशाली डेरीलाई कामचोरहरूको आवश्यकता छैन । जसले ठीकसँग काम गर्दैन उसलाई कठोर दण्ड दिइनेछ ।’

भाइनाइकेहरूलाई उसले भन्यो, ‘हामीले मासु खान नपाएको धेरै भयो । अब यिनै कामचोरहरूको शिकार गर्ने हो । यसको जिम्मा हाम्रा लडाकू साथीहरूलाई दिने हो । तिमीहरूले मासु खान पाउनेछौ ।’

एउटा भाइनाइकेले तर्क गर्‍यो, ‘पहिले जे गरियो, गरियो । अब त हामीले पनि आफूलाई मान्छे जत्तिकै सभ्य भइसक्यौं भन्न थालेका छौं । त्यसैले जनावरलाई जे गरे पनि मान्छेलाई चाहिं यस्तो नगर्ने कि ?’

जंगेले सम्झायो, ‘हेर, हामी सभ्य बन्ने कुरा देखावटी र नारा मात्र हो । मान्छेलाई टोक्नु त हाम्रो धर्मै हो । मान्छेलाई टोक्छौं, त्यसैले त हामी कुकुर हौं । कुकुरवाद भनेकै मान्छेवादको उल्टो हो । उनीहरू जेलाई सभ्यता भन्छन्, हामी त्यसको उल्टो बाटो हिंड्छौं । तिनलाई जे गर्दा लाज हुन्छ, हामीलाई हुँदैन, त्यसैले नांगो हुँदा पनि असजिलो मान्दैनौं । उनीहरू नैतिकतामा विश्वास गर्छन्, हाम्रा लागि त्यो हात्तीको देखाउने दाँत मात्र हो । साँच्चै मान्छे जस्तो बनियो भने त कुकुरै रहिएन नि । बाहिर जे भने पनि हाम्रो लक्ष्य कुकुरतन्त्र नै हो । यसमा मान्छेको काम छैन । ’

उसका कुरामा सबै सहमत भए । उसले पनि भाइनाइकेको भावनाको कदर गर्‍यो । फलस्वरूप जंगेको आदेश भित्रभित्रै कार्यान्वयन हुन थाल्यो, बाहिर नदेखिने गरी । दुई महीनाभित्रै दुई दर्जन भन्दा बढी जनावर डेरीबाट गायब भए— गाईदेखि गधासम्म र राँगोदेखि खच्चडसम्म । यस क्रममा दुई जना मान्छे जागीर छोडेर घर गएको सुनियो, यद्यपि उनीहरूले कसैसँग पनि जागीर छोड्ने कुरा गरेका थिएनन् । न उनीहरू गएकै कसैले देखेको थियो । तिनीहरू गायब भएपछि अरू मानिस पनि जागीर र तलब दुवैको माया मारेर ‘कुकुरलाई डेरी कहिल्यै फाप्तैन’ भन्दै हिंडे । भाइनाइकेहरू भने मोटाउन थाले । तिनको भुकाइ पहिले भन्दा तेजिलो हुन थाल्यो ।

यसैबीच एउटा भाइनाइकेले थाहा पायो, डेरीमा प्रशस्त घीउ बन्दो रहेछ । जम्मै घीउ जंगेको कब्जामा रहेछ । घ्याम्पाका घ्याम्पा घीउ ऊ बस्ने घरको भूमिगत कोठामा लुकाइएको रहेछ ।

अरूहरूले समेत यसबारे थाहा पाएपछि उनीहरू जंगेसँग ‘हामीलाई पनि घीउ चाहियो’ भनेर कचकच गर्न थाले । जंगे पहिले त ‘घीउ बनेकै छैन, राखेकै छैन’ भनेर उम्कन खोज्यो । ‘त्यसो भए भूमिगत कोठा घुम्न जाऊँ’ भनेर तिनले जिद्दी कसेपछि चाहिं दिन्छु–दिन्छु भनेर टार्न थाल्यो । भाइनाइकेहरूले धर नदिएपछि बल्लबल्ल दुई–दुई डाडु घीउ दियो । एउटाले मरिहत्ते गरेको थियो, उसलाई मुसुमुसु हाँस्तै सिंगो हर्पे नै दियो । तर घर लगेर खान लाग्दा थाहा भयो, मुन्तिर गोबर भन्दा दुर्गन्धित वस्तु राखेर माथि मात्र अलिकति घीउ हालिएको रहेछ, घीउबेचुवा र तरवारबेचुवाको कथामा जस्तै ।

यसले भयंकर रडाको मच्चायो । उनीहरू बकाइदा जंगेको घेराबन्दी गरेर जम्मै घीउ बराबरी बाँड्नुपर्छ भन्न थाले । त्यसपछि जंगे रन्कियो र भन्यो, ‘माग्नेलाई दुई–चार डाडु दिनु बेग्लै कुरा हो । भागै लगाएर घीउ बाँड्ने कुरा त सपनामा पनि नसोचे हुन्छ ।’ डेरीमा केही हप्तादेखि सुनिएको कर्कश भुकाइ यही रडाकोको थियो ।

झगडा चर्कंदै गएपछि आफ्नो बुद्धिले नभ्याउने देखेर दुवै पक्ष मानिसको सहयोग खोज्न थाले । तिनको डेरीमा कुनै मानिस बाँकी थिएन, त्यसैले राति–राति कसैले नदेख्ने गरी ओल्लो–पल्लो डेरीको ढोका चहार्न थाले । एउटा दायाँतिरको डेरीमा पस्यो, अर्को बायाँतिरको डेरीमा । उताका मानिस पनि राति–राति यता आउन थाले र अँध्यारो कोठामा गोप्य सल्लाह दिन थाले । दुवैको दुवैलाई सल्लाह एउटै हुन्थ्यो, ‘त्योभन्दा तिमी के कम ? त्योसँग नझुक । त्यसलाई देखाइदेऊ । तिम्रा पछाडि म छु ।’

यसरी उचालिएपछि नै हो, घ्वाँके कुकुरहरूले सडकमा निस्केर एक–अर्कालाई टोकाटोक गर्न थालेका । घाइते शरीर र रक्ताम्य अनुहार लिएर दुवै पक्ष एक–अर्कालाई भनिरहेका थिए, ‘तँलाई रेबिज लागिसकेको छ । आज कि भोलि नै मास छर्न जान्छस् ।’

यसपछिको दृश्य हेर्न लायक थिएन । अचाक्ली रगत बगेर जीउ थर्थर कामिरहेका दुवै पक्ष सहयोगको आशामा सकी नसकी पुच्छर हल्लाउँदै ओल्लो–पल्लो डेरीतिर हेरिरहेका थिए । उताका मानिस चाहिं बार्दलीमा उभिएर अट्टहास गर्दै भनिरहेका थिए— कुकुरलाई घीउ नपचेको !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here