Home News चीनको ६३ अर्ब लगानीमा बन्दैछ नेपालकै ठूलो औद्योगिक पार्क, प्रधानमन्त्रीद्वारा भव्यताका साथ...

चीनको ६३ अर्ब लगानीमा बन्दैछ नेपालकै ठूलो औद्योगिक पार्क, प्रधानमन्त्रीद्वारा भव्यताका साथ शिलान्यास (भिडियो हेर्नुहोस्)

484
0

देशकै ठूलो औद्योगिक पार्क झापामा बन्ने भएको छ। चीन सरकारको सहयोगमा दमक, गौरादह र कमल गरी तीन स्थानीय तहको १६ सय हेक्टर (२२ सय बिघा)मा पार्क बन्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कमल गाउँपालिका–७ स्थित झर्काहमा आयोजित कार्यक्रममा चीन–नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री ओलीले सुविधासम्पन्न यो पार्कको पूर्वाधार निर्माणले पाँच वर्षभित्र पूर्णता पाउने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउने बताए। ‘औद्योगिक पार्कले अबको २ वर्षमा ४५ हजारलाई रोजगारी दिनेछ’, प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले हरेक नेपाली उत्पादनले विश्व बजारमा बजार पाउने बताए। सरकारले देशभर यस्तै औद्योगिक पार्क स्थापना गर्ने काम सुरु गरेको ओलीको भनाइ थियो।

‘सरकारले तीन वर्षमै चामत्कारिक ढंगले आर्थिक समृद्घि ल्याउनका लागि काम गरेको छ’, उनले भने, ‘अब देशमा बेरोजगारी हटेर औद्योगिक क्रान्ति सुरु भएको छ।’ पार्क शिलान्याससँगै स्थानीय बासिन्दा उत्साहित भएका छन्। स्थानीय पदम सेढाईंले औद्योगिक पार्कमा आफ्नो पाँच बिघाभन्दा धेरै जग्गा परेको बताए। ‘लामो समय औद्योगिक पार्कले गति नपाउँदा बन्ने हो कि हैन भन्ने थियो अब गति लिने भयो’, सेढाइँले भने।

उनले विकासमा राजनीति नगरी बरु राजनीतिचाहिँ विकासका लागि गर्नुपर्ने सुझाव नेताहरूलाई दिए। अर्का स्थानीय जगन धिमालले पुर्खाले पसिना बगाएको जमिन पार्क बनाउन छाड्नुपर्दा अलिकति पनि दुःख नलागेको बताए। देश, जनता र सन्ततिको भाग्य तथा भविष्य फेर्ने पार्क बन्न लागेकोमा गर्व महसुस गरेको धिमालको भनाइ छ। यसअघि सस्तै मूल्यमा सरकारलाई जग्गा उपलब्ध गराए पनि २ वर्षसम्म काम अघि नबढेकामा स्थानीयको गुनासो थियो। स्थानीयले चाँडोभन्दा चाँडो काम थालेर पार्कमा उद्योग स्थापना गरिनुपर्ने माग गरेका छन्।

चीनको बेल्ट एन्ड रोड परियोजनाअन्र्तगत नेपालमा यो पहिलो विकास निर्माण हो। यसको निर्माण चार चरणमा सम्पन्न हुने जनाइएको छ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलरमा निर्माण हुनेछ। यो पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले दक्षिण एसियामै उत्कृष्ट हुने सरोकारवालाको विश्वास छ।

पार्क निर्माण गर्न नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच सम्झौता भएको छ। पार्कका अध्यक्ष गोविन्द थापा र बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। जग्गा प्राप्ति प्रक्रिया पूरा भएको र अब निर्माण थालिने जनाइएको छ।

अध्यक्ष थापाले यो निर्माण प्रभावकारी, आकर्षक र पारदर्शी हुने बताए। पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने थापाको विश्वास छ। ‘नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्र्यो’, थापाले भने, ‘अब दमकमै नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्नलायक विकासको मोडल तयार हुनेछ।’

यो पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार हुनेछ। यो दक्षिण एसियामै एक मात्र आधुनिक औद्योगिक क्षेत्रका रूपमा विकास हुने आशा गरिएको छ। पार्क बनेपछि ठूलो परिमाणमा राजस्व वृद्धि हुने अपेक्षा राखिएको छ।

नेपालमा पीपीपी मोडलमा जलविद्युत्बाहेक पहिलो पटक आयोजना सुरु भएको हो। यसमा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहनेछ। बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन चिनियाँ लगानीकर्तालाई अनुमति दिएको थियो। बोर्डले कम्पनीको ६४ अर्ब लगानी स्वीकृत गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here